Close Menu
Kalitoli
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    KalitoliKalitoli
    Subscribe
    [nepali-date-converter title="Nepali date" result_format="l, F j, Y"]
    • गृहपृष्ठ
    • कला साहित्य
    • विचार
    • डोट्याली भाषा विशेष
    • ज्ञान विज्ञान
    • पर्यटन
    • अनुसन्धान
    Kalitoli

    डोट्याली लोकसमुदायमा चैत्र (चैत) महिना र विशिष्ट सांस्कृतिक परम्परा

    ‘आरु पाकाइ आरु फुलाइ जन आस्या बाबा’
    कविराज भट्टकविराज भट्टMarch 15, 2026

    डोट्याली लोकसमुदायमा हरेक महिनाको आफ्नो छुट्टै विशेष महत्त्व छ । विशेष गरी मास र ऋतुअनुसार हुने विविध धार्मिक, सांस्कृतिक क्रियाकलापहरुले हरेक महिनाको बेग्लै मौलिक पहिचान झल्किने गर्दछ । समय र प्रकृतिका विविध स्वरूप अनुसारको जीवनपद्दति चलाउँदै आइरहेको यस समुदायको संस्कृति पनि त्यसैअनुरूप अगाडि बढिरहेको पाइन्छ । विशेष गरी कृषि पेशालाई जीवनको आधार बनाएर बाँच्दै आइरहेको यस समुदायमा त्यसै किसिमका पर्व र सांस्कृतिक उत्सवहरू पनि रहेका पाइन्छन् । लोकजीवनसँग मेल खाने संस्कृति र लोकसाहित्यले यस क्षेत्रको मौलिक पहिचानलाई झल्काएको पाइन्छ । त्यही मौलिक र विशिष्ट सांस्कृतिक झलकहरूमध्ये एक हो वसन्तको सुरुवात, नयाँ संवत्को सुरुवात हुने चैत्र ।
    चैत्रको मनिालाई डोट्यालीमा चैत भन्ने गरिन्छ । डोट्याली लोकसमुदायमा चैत्र महिनाको विशेष महत्त्व रहेको पाइन्छ । प्राकृतिक हिसाबले हेर्ने हो भने ऋतुराज वसन्तको सुरुवात हुने महिना, जसमा नवपल्लवित पालुवाले पृथ्वी हराभरा हुने गर्दछिन् । वनजङ्गलमा कोइलीले मिठामिठा धुन अलाप्ने गर्दछन् । चिसो हराएर गर्मीको मौसम सुरु हुने गर्दछ । गहुँ र जौ लगायतका वाली पाक्दै गरेको दृश्य देखिन्छ । मानव मनमा नयाँ शक्तिको सञ्चार हुने गर्दछ । यस्तो चैत महिना डोट्याली लोकसमुदायमा सांस्कृतिक उत्सव र लोकसाहित्यको प्रस्तुतिले भरिएको पाइन्छ ।
    चैत महिनालाई विविध सांस्कृतिक उत्सवका रुपमा चिन्न सकिन्छ । डोट्याली लोकसमुदायमा चैत महिनामा दिदी बहिनी भट्न जाने प्रचलन रहेको छ । विशेष गरी डोट्याली लोकपरिकारका मिठामिठा पकवान पकाएर दाजुभाइहरु दिदी बिहिनीको घरमा गएर भेट्न जाने प्रचलन रहेको पाइन्छ । खास गरी दाजुभाइ तथा माइती पक्षले लौन, सेल, प्वा, माणा लगायतका परिकार, भान्छा खाने मान्छेका लागि पिञ्जरी प्रसाद लगेर दिदीबहिनीलाई भेट्न जाने चलन यस समुदायमा रहेको छ । जसका आफ्ना दाजुभाइ वा आमाबुबा छैनन् तिनलाई पनि नजिकका आफन्तले भेट्ने गर्दछ । तत्कालीन समयमा सानैमा बिहे गरेर पराइ घर गएका दिदीबहिनीहरुलाई भेट्न जानुको कारण सञ्चारको साधन नहुनु, पैदल यात्रा गरी टाढाटाढा घर भएका दिदीबहिनीहरुको हालखबर बुझ्नका लागि पनि यो प्रथा चलेको हुनुपर्छ । त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त आमाहरुको सन्तानप्रतिको माया हुन सक्छ । यस समयको प्रकृतिलाई राम्रोसँग अध्ययन गर्ने हो भने पहाडी भूभागमा तत्कालीन अवस्थामा भोक हुने र यस महिनामा अन्नपातको साह्रै समस्या हुने भएकाले छोरीले खानलाउन पाएकी छ कि छैन भनेर आमाको मायाले पनि भाइहरुलाई दिदीबहिनीको लागि खानेकुरा र लगाउने लुगा पठाउने प्रचलन हुनुपर्छ । यो कुराको प्रमाणका रुपमा डोट्याली लोकसमुदायमा ‘आरु पाकाइ आरु फुलाइ जन आस्या बाबा’ भन्ने गीति उखानलाई लिन सकिन्छ । विशेष गरी आरु फुल्ने र पाक्ने बेला भोकमरी हुने भएकाले यो समयमा पाहुना आएमा सेवा सत्कार तथा भोजनका लागि समस्या पर्ने भएकाले यस्तो भनिएको हुनपर्छ । यसकारण माइतीपक्षबाट बुबा वा दाजुभाइहरु गएमा उनीहरुलाई के खुवाउने भन्ने समस्याका कारण छोरीबेटीहरुले यस्तो भनेको हुनुपर्छ । यसबाट के बुझन् सकिन्छ भने चैत्रको महिनामा अन्नपातको कमी हुने भएकाले माइतीपक्षबाट छोरीबहिनीलाई विभिनन पकवान लगेर भेट्ने प्रचलन रहेको हुनुपर्दछ । जेजसरी प्रचलनमा आए पनि यस महिनालाई दिदीबहिनी भेट्ने महिनाको रुपमा चिन्ने गरिन्छ । यो डोट्याली लोकसंस्कृतिको अत्यन्तै सुन्दर पक्ष हो ।
    चैत्र महिना लोकसाहित्यको प्रस्तुति हुने महिनाका रुपमा पनि प्रचलित छ । डोट्यालीमा चैत्रलाई चैत पनि भनिन्छ । चैत भनेको गाथा पनि हो । यस महिनामा विभिन्न देवीदेवता,राजारजौटा, वीरपुरुष तथा अन्य स्थानीय सामाजिक सांस्कृति महत्त्वका गाथाहरु प्रस्तुत गर्ने गरिन्छ । विशेष गरी यस महिनामा भडा प्रस्तुत गरिन्छ । कला र सङ्गीतका सर्जक तथा संस्कृतिका संरक्षक दलित समुदायले यस महिनामा हरेक घरमा गएर हुड्कोको धुनसँगै परम्परागत पहिरनमा नृत्यगेयात्मक तथा अभिनयात्मक विशेषताले युक्त भडा सुनाउने गर्दछन् । धर्म, संस्कृति र इतिहासले भरिपूर्ण विविध गाथा सुनाउने प्रचलन यस समुदायमा रहेको पाइन्छ । यसबाफत उहाँहरुलाई अन्न, भेटी दिएर सम्मान गर्ने गरिन्छ ।
    चैत्र महिना जेठो महिना पनि हो । सौर्य गणना अनुसार वैशाख एक गते नयाँ वर्षको सुरुवात मानिए पनि चान्द्र गणना अनुसार चैत्र कृष्ण औँशीदेखि नयाँ वर्षको आरम्भ मान्ने गरिन्छ । नयाँ संवत्को सुरुवात यस महिनामा हुने गर्दछ । यस दिनमा ज्योतिषहरुबाट नयाँसंवतको फलादेश सुन्ने गरिन्छ भने विभिन्न ठाउँका ज्योतिषहरु बसेर वर्षभरिका चाँडपर्व कुन दिन मनाउने भन्ने निर्णय पनि यसैदिन गर्ने गरिन्छ ।
    जेठो नवरात्रीका रुपमा चैत्र नवरात्री पनि यस महिनामा पर्ने गर्दछ । विशेष गरी सुदूरपश्चिमका देवस्थलहरुमा नवरात्रीको अवसरमा विभिन्न मन्दिरहरुमा पूजा लाग्ने गर्दछ भने चैत्राष्ठमीमा विभिन्न मन्दिरहरुमा मेला पनि लाग्ने गर्दछ । यस महिनामा नवरात्री सुरु हुनुअघि घरको रंगरोगन गर्ने प्रचलन पनि रहेको छ । विशेष गरी कमेरो र रातो माटोले घरकोभित्र र बहिर लिपपोत गर्ने महिनाको रुपमा पनि यस महिनालाई लिने गरिन्छ । यति मात्र नभएर जेठो अन्न जौँको कलै लाउने महिना पनि चैत्र महिना हो । शुभ साइत हेरी सुरुमा स्थानीय देवीदेवताका मन्दिरका द्वारमा कलै लगाएर त्यसपछि हरेक घरका द्वारमा कलै लगाउने गरिन्छ । कलै भनेको घरको ढोका माथि गाईको गोबरमा जौँका पाँच बाला लगाएर त्यसको पूजाआजा गरी अन्न र प्रकृतिको सम्मान गर्ने गरिन्छ ।
    यस महिनालाई डोट्याली लोकसमुदायमा रितो महिना पनि भन्ने गरिन्छ । रितो महिनामा विवाह लगायत केही अन्य संस्कार गर्न हुँदैन भन्ने लोक मान्यता पनि यस समुदायमा रहेको पाइन्छ । मित्रराष्ट्र भारतको कुमाउसँग सीमाना जोडिएका भूभागमा कतैकतै फूलदेली मनाउने प्रचलन पनि रहेको छ । चैत्र एक गतेका दिन दिदीबहिनीहरुले मूल ढोकाका फूल अक्षतले पूजा गरी आर्शीवाद दिने प्रचलन पनि यस समुदायमा रहेको पाइन्छ । यसरी समग्रमा भन्नुपर्दा सांस्कृतिक उत्सवहरु र विशिष्ट परम्पराले भरिएको यो महिना डोट्याली लोकसमुदायमा लागि एक विशेष महिना हो ।

    थप लेख

    हिन्दु कालगणनामा नववर्ष, शक संवत र रौद्र सम्वत्सरको शास्त्रीय विश्लेषण

    मानव उत्पत्ति सम्बन्धी डोट्याली मान्यता

    अठ्यावाली

    Add A Comment
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Buy Now
    Copyright © 2026All right reserved to Kalitoli.com.

    Type above and press Enter to search. Press Esc to cancel.