Close Menu
Kalitoli
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    KalitoliKalitoli
    Subscribe
    [nepali-date-converter title="Nepali date" result_format="l, F j, Y"]
    • गृहपृष्ठ
    • कला साहित्य
    • विचार
    • डोट्याली भाषा विशेष
    • ज्ञान विज्ञान
    • पर्यटन
    • अनुसन्धान
    Kalitoli

    मानव उत्पत्ति सम्बन्धी डोट्याली मान्यता

    कविराज भट्टकविराज भट्टJanuary 26, 2026

    सार
    मानव उत्पत्ति सम्बन्धी विभिन्न धर्म सम्प्रदाय, वैज्ञानिक तथा विद्वानहरुका आआफ्नै मतहरु रहेको र डोट्याली समुदायमा पनि मानव उत्पत्ति सम्बन्धी आफ्नो छुट्टै मत रहेको पाइन्छ । यस क्षेत्रका लोकगाथाहरुमा मानवको उत्पत्ति महादेवले गरेको कुरा उल्लेख छ । महादेवले साजी (खरानी) बाट मानिसको मुर्ति बनाएर त्यसमा प्राण भरेको कुरा उल्लेख गरेको छ । यस अध्ययनमा पनि मानव उत्पत्ति सम्बन्धी विविध मत तथा डोट्याली गाथाहरुमा मानव उत्पत्ति सम्बन्धी मतको अध्ययन एवम् चर्चा गरिएको छ ।
    १.१ पृष्ठभूमि
    मानिस सर्वाेत्कृष्ट प्राणी हो । आफ्नो बुद्धि विवेकको कारणले मानिसले संसारका सम्पूर्ण प्राणीहरुलाई आफ्नो वसमा पारेको छ । मानिसले आफूलाई सभ्य देखाउन थुप्रै खोज अनुसन्धान गरी नयाँ नयाँ ज्ञान विज्ञानको पनि सिर्जना गरेको छ । यिनै ज्ञान विज्ञानको सहायताले बह्माण्डको अध्ययनमा निरन्तर दौडिरहेको पाइन्छ । अहिलेको मानिस पुराणहरुमा कल्पना गरिएका विभिन्न लोक तथा स्थानहरुको भ्रमणमा पनि तल्लिन रहेको छ । धेरै कुराको खोजी तथा सिर्जनाको अध्ययन गर्ने मानवले आफ्नै उत्पत्तिको प्रमाणिक तथ्य भने अझै फेला पार्न सकेको छैन । विभिन्न धर्म तथा सम्प्रदाय, विभिन्न दर्शन तथा मान्यता र विज्ञानले यसमा चासो नदेखाएको भने अवश्य पनि होइन । वर्तमान नेपालको सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्य अन्तर्गत बसोबास गर्ने समुदायलाई डोट्याली समुदाय भनिन्छ । डोट्याली समुदायको आफ्नो छुट्टै अस्थित्व रहेको पाइन्छ । यस क्षेत्रको भाषा, साहित्य, धर्म, संस्कृति, राजनीति आदि विविध क्षेत्रका विविध किसिमका मौलिकताहरु रहेको पाइन्छ । यस क्षेत्रको लोक वाङ्मय, लोक जीवन तथा लोक साहित्यको अध्ययन गर्ने हो भने यस क्षेत्रका मौलिक कला, सिर्जना, ज्ञान, विज्ञान, दर्शन आदि कुराहरु पाइन्छन् । डोट्याली समुदायमा पनि मानव उत्पत्ति सम्बन्धी आफ्नो छुट्टै मत रहेको पाइन्छ । यस क्षेत्रका लोकगाथाहरुमा मानवको उत्पत्ति महादेवले गरेको कुरा उल्लेख छ । महादेवले साजी (खरानी) बाट मानिसको मुर्ति बनाएर त्यसमा प्राण भरेको कुरा उल्लेख गरेको छ ।
    १.२ समस्या कथन
    यस अध्ययनका समस्याहरु निम्न रहेका छन् ः
    क) मानव उत्पत्ति सम्बन्धी केकस्ता मतहरु रहेका छन् ?
    ख) मानव उत्पत्ति सम्वन्धी डोट्याली मान्यता कस्तो रहेको छ ?
    १.३ उद्देश्य
    यस अध्ययनका उद्देश्यहरु निम्न रहेका छन् ः

    क) मानव उत्पत्ति सम्बन्धी विभिन्न मतहरुको अध्ययन गर्नु ?
    ख) मानव उत्पत्ति सम्वन्धी डोट्याली मान्यता अध्ययन गर्नु ?

    १.४ अध्ययनको महत्व
    मानव उत्पत्तिको विषय रहश्यमय छ । विभिन्न समयमा विभिन्न धर्म, सम्प्रदाय एवम् विद्वान वैज्ञानिकहरुले आआफ्ना मतहरु राखे पनि अझै चित्त बुझ्दो सत्य फेला पर्न सकेको छैन् । यिनै मतहरु राख्ने सम्बन्धमा डोट्याली समुदायको मत पनि आफ्नो मौलिकतामा अडिग रहेको छ । डोट्याली गाथाहरुमा भएका यस्ता विशेष महत्वका विषयवस्तुको अध्ययन आफैमा महत्वपूर्ण नै हुन्छ । यस अध्ययनले मानव उत्पत्तिको विषयमा सङ्केत गरेकाले अध्ययनकर्ताहरुलाई मार्गदर्शन गर्नुका साथै डोटुयाली गाथाहरुको ज्ञान नेपाली भाषामा पुगाउनु पनि यसको अर्को महत्व हो । यसै गरी डोट्याली लोकवार्तासँग सम्बन्धित अध्येताहरुलाई मार्ग दर्शन गर्नमा पनि यसको महत्वपूर्ण भूमिका रहने छ ।
    १.५ अध्ययन विधि
    कुनै पनि अध्ययनलाई सफल तुल्याउन निश्चित विधिको आवश्यकता पर्दछ । यस अध्ययनलाई सफल पार्न जनसङ्ख्याका रुपमा डोट्याली समुदायलाई लिइएको छ भने नमुनाका रुपमा बैतडी जिल्लालाई लिइएको छ । यसमा मानव उत्पत्ति सम्बन्धी लेखिएका लेख, पुस्तक, पत्रपत्रिकाहरुलाई द्वितियक सामग्रीका रुपमा उल्लेख गरिएको छ । त्यसै गरी व्याख्यात्मक एवम् वर्णनात्मक विधिको उपयोग गरिएको छ ।
    १.६ मानव उत्पत्ति सम्बन्धी  विभिन्न धर्म सम्प्रदाय तथा विद्वान, वैज्ञानिकहरुका मतहरु
    मानिस सर्वाेत्कृष्ट प्राणी हो । आफ्नो बुद्धि विवेकको कारणले मानिसले संसारका सम्पूर्ण प्राणीहरुलाई आफ्नो वसमा पारेको छ । मानिसले आफूलाई सभ्य देखाउन थुप्रै खोज अनुसन्धान गरी नयाँ नयाँ ज्ञान विज्ञानको पनि सिर्जना गरेको छ । यिनै ज्ञान विज्ञानको सहायताले बह्माण्डको अध्ययनमा निरन्तर दौडिरहेको पाइन्छ । अहिलेको मानिस पुराणहरुमा कल्पना गरिएका विभिन्न लोक तथा स्थानहरुको भ्रमणमा पनि तल्लिन रहेको छ । धेरै कुराको खोजी तथा सिर्जनाको अध्ययन गर्ने मानवले आफ्नै उत्पत्तिको प्रमाणिक तथ्य भने अझै फेला पार्न सकेको छैन । विभिन्न धर्म तथा सम्प्रदाय, विभिन्न दर्शन तथा मान्यता र विज्ञानले यसमा चासो नदेखाएको भने भने अवश्य पनि होइन ।
    विश्वकै जेठो हिन्दु मान्यता अनुसार मानव उत्पत्तिका आदिपुरुष बह्मालाई स्वीकार गरेको पाइन्छ । बह्माले आफ्नो योगमायाबाट नर नारीको उत्पत्ति गरी सृष्टिको विकासका लागि आज्ञा दिएको कथा शिव पुराण लगायत विभिन्न हिन्दुग्रन्थहरुका उल्लेख गरिएको पाइन्छ । हिन्दु मान्यता अनुसार मानिसको उत्पत्ति स्थान हिमालय पर्वत नजिकको भुभागलाई मानेको छ । शतपथ ब्राह्मण मा “तेषां कुरुक्षेत्रे देव यजनं आस तस्मादाहुस कुरुक्षेत्रं देवानां देव यजनम्” भनेर प्राचीन देवताहरु कुरुक्षेत्रमा यज्ञ गर्ने गर्थे र त्यही क्षेत्रमा मानवको उत्पत्ति भएको मान्यता अघि सारेको पाइन्छ । त्यसै गरी स्वामी दयानन्द सरस्वती आर्यले सत्यार्थप्रकासमा आर्यावर्त अर्थात तिब्बत र हिमालयको छेउमा मानव उत्पत्ति भएको कुरा उल्लेख गरेको पाइन्छ । त्यसै गरी आयुर्वेदको चरक प्रसङ्गमा “ऋषया खलु ः कदाचित् क्षात्रीना प्राणावराश्च” भनेर ऋषिहरु पहिले हिमालयमा बस्ने र पछि गएर बिस्तारै हरिद्वार आदि ठाउँहरुमा बसाइ सरेको कुरालाई उल्लेख गरेको पाइन्छ (शंखवार ः २०१६) । त्यसै गरी स्कन्ध पुराणको मानस खण्डमा मानवको उत्पत्तिस्थान मानसखण्ड रहेको उल्लेख गरेको पाइन्छ । हिन्दु सम्प्रदायका विभिन्न विद्वानहरुले मानसखण्डलाई नै मानवउत्पत्तिको स्थान मानेका र मानव उत्पत्तिकै कारण यसको नाम मानसखण्ड रहन गएका थुप्रै विद्वानहरुका मान्यता रहेका छन् । वेदमा उत्तरतिर हिमालय प्रर्वत रहेको कुरा स्पष्ट अंकित गरिएको छ । हिमालयका लागि हैमवत्, हिमवन्त आदि शब्दहरुको प्रयोग भएका पाइन्छन् ः यस्मे मे हिमवन्तो महित्वा… कस्मै देवाय हविष विधेम । कैलासको नजिकै बह्माले मनबाट मान सरोवरको सृष्टि गरेका थिए। जुन कुरा वाल्मििक रामायणमा पनि उल्लेख गरेको पाइन्छ ः
    कैलास पर्वतं राम मनसा निर्मितं परम्
    बह्मण नरशादूल तेनेदं मानसं सुर (आचार्य ः २०७३)
    त्यसै गरी इसाइ सम्प्रदायको बाइबल अध्ययन गर्दा इशुले एडम र ईव पृथ्वीमा पठाएर मानव उत्पत्तिको भार सुम्पेको र उनैबाट मानव सृष्टिको सुरुवात भएको मान्यता पाइन्छ । यसरी बाइबलमा कुरान आदिमा  परमात्माले श्वर्गमा पुतला बनाइ त्यसको कान फुकेर प्राण भरेको र त्यसैबाट मानवको उत्पत्ति भएको आदि विभिन्न कथाहरु सुन्न तथा पढ्न पाइन्छ । (शंखवार ः २०१६) ।
    यसै गरी मैक्समुलरले आदि मानवको स्थान मध्य एसिया, बगंलाका प्रसिद्ध विद्वान उमेश चन्द्रले मंगोलिया रहेको मत प्रकट गरेको पाइन्छ । यसरी विभिन्न धर्म ग्रन्थ तथा सम्प्रदायका मानव उत्पत्ति सम्बन्धी विभिन्न धारणाहरु रहेको पाइन्छ । कसैले मध्य एसिया, कसैले हडप्पा, कसैले सिन्धुघाँटी, कसैले तिब्बत, मानसखण्ड आदि स्थलहरुलाई मानव उत्पत्तिस्थलको रुपमा उल्लेख गरिएको पाइन्छ ।  यसरी विविध धर्म तथा मान्यताहरुमा मानव उत्पत्ति सम्बन्धी विभिन्न मतहरु उल्लेख गरेको पाइन्छ ।
    त्यसै गरी वैज्ञानिकहरुले पनि मानव उत्पत्ति सम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गरेको पाइन्छ । विभिन्न वैज्ञानिकहरुले मानवको उत्पत्ति समुद्रमा भएको र जहाँ समुद्रमा भएका विभिन्न तत्वहरुको प्रतिक्रियाका उपज एक कोशीय जीवको उत्पत्ति भएको र त्यसको विकास हुँदै जाने प्रक्रियामा विभिन्न जीवहरुको उत्पत्ति पश्चात् मानवको उत्पत्ति भएको कुरामा एकमत प्रकट गरेका छन् । वैज्ञानिकहरुले समुद्रमा मानिसको उत्पत्ति भनेको माने पनि अझै सन्तुष्ट हुन भने सकेका छैनन । अझै यसको खोजमा विभिन्न वैज्ञानिकहरु लागिपरेको पाइन्छ ।
    १.७ मानव उत्पत्ति सम्बन्धी डोट्याली मान्यता
    वर्तमान नेपालको सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्य अन्तर्गत बसोबास गर्ने समुदायलाई डोट्याली समुदाय भनिन्छ । डोट्याली समुदायको आफ्नो छुट्टै अस्थित्व रहेको पाइन्छ । यस क्षेत्रको भाषा, साहित्य, धर्म, संस्कृति, राजनीति आदि विविध क्षेत्रका विविध किसिमका मौलिकताहरु रहेको पाइन्छ । यस क्षेत्रको लोक वाङ्मय, लोक जीवन तथा लोक साहित्यको अध्ययन गर्ने हो भने यस क्षेत्रका मौलिक कला, सिर्जना, ज्ञान, विज्ञान, दर्शन आदि कुराहरु पाइन्छन् । आफ्नो लोक व्यवहारका क्रममा लामो अनुभवबाट डोट्याली समुदायले थुप्रै मौलिक कुराको सिर्जना गरेको पाइन्छ । यसै क्रममा ज्ञान तथा दर्शनका क्षेत्रमा पनि डोट्याली समुदायको आफ्नो छुट्टै विशेषता र विशिष्टता रहेको पाइन्छ । यस समुदायले ज्ञानका तथा दर्शनका क्षेत्रमा आफ्नो मौलिक वेद देखि लिएर विविध लोकगाथा, लोककथा, लोकोक्ति आदि थुप्रै कुराको सिर्जना गरिसकेको पाइन्छ । त्यसै गरी विज्ञान तथा स्वास्थ्यका यस क्षेत्रका वैधहरुले खोजी गरेका विविध औषधीहरु, हातहतियार तथा विभिन्न उपकरण आदि थुप्रै कुराको मौलिक सिर्जना तथा खोज गरिसकेको पाइन्छ । यसरी डोट्याली समुदायका थुप्रै मौलिक मान्यताहरु पनि रहेको पाइन्छ । यसै क्रममा मानव उत्पत्तिसम्बन्धी पनि डोट्याली सम्प्रदायको आफ्नो छुट्टै मान्यता रहेको पाइन्छ । डोट्याली लोक वाङ्मयका गाथाहरुमा मानव उत्पत्तिका कुराहरु उललेख गरिएका छन् । यस क्षेत्रमा हरितालिका तृतीयाको दिन माटोका डिगरा बनाएर पूजा गर्ने प्रचलन रहेको पाइन्छ । माटोका डिगरा बनाउदा महिलाहरुले डिगरा बनाउदाको फाग गाउँछन् जुन फागमा मानव उत्पत्तिको रहस्य पाइन्छ । यो कुनै वैज्ञानिक मत नभए पनि हाम्रो वाङ्मयको मौलिकता हो । मानव उत्पत्तिको बारेमा सत्यता अझै पत्ता लागिनसकेको अवस्थामा यसले पनि मानव उत्पत्तिको सङ्केत शिव पावर्ती र आगोलाई दिएको पाइन्छ । मानिसको सरीरमा कन्याउँदा पनि छार जस्तो सेतो पदार्थ निष्कन्छ, जुन त्यही साजस् अथवा छारबाट बनेको हुनाले हो भन्ने मान्यता यस समुदायमा रहेको पाइन्छ । यस समुदायको मान्यता अनुरुप मानवको उत्पत्तिस्थल हिमालको वरिपरीको मानस क्षेत्र हो । भगवान महादेव (मायासर) ले पार्वतीको आग्रहमा मानिसको उत्पत्ति गरेको प्रसङ्ग यस क्षेत्रका लोक गाथाहरुमा पाइन्छ ।
    सृष्टिका धनी महादेव
    सृष्टि रचन्ना महादेव
    मन्तालोक नर नाइथी
    नर नाइथी पजर नाइथी
    मन्ता लोक नर चाइन्छ
    नर चाइन्छ पजर चाइन्छ । (स्व. जानकी भट्टको अप्रकाशित सगुन फाग पाण्डुलिपीबाट)
    यसरी मन्तालोक (मृत्यलोक) नर (मानिस) नभएको र महदेवले सिष्टि रचना गर्ने कुरा उक्त फाग पङ्तिहरुका उल्लेख भएको छ । त्यसै गरी मदादेवले सर्वप्रथम सुनको डिगरो (मुर्ति) बनाएको र त्यसमा प्राण भर्न सम्भव नभएको त्यसपछि चाँदी, तामा, माटो आदिको गिगरो बनाएको तर त्यसमा पनि प्राण भर्न नसक्दा अन्त्यमा साजी (विभूति, छार) को डिगरो बनाएको र त्यसमा प्राण भर्न सफल भएका र मानव उत्पत्ति गर्न सकेकोमा खुशी व्यक्त गरेको कुरा डोट्याली लोक गाथाहरुमा यसरी व्यक्त भएको पाइन्छ ः

    पैल्ली उगायो सुना डिगरो
    सुनाका डिगरा हौ हउ कनम
    सुनका डिगराले हउ नाइ कयो
    उति पाछा बनायो चाँदी डिगरो
    चाँदीका डिगरा हौ हउ कमन
    चाँदीका डिगराले हउ नाइ कयो
    उति पाछा बनायो रुपा डिगरो
    रुपाका डिगरा हौ हउ कमन
    रुपाका डिगराले हउ नाइ कयो
    उति पाछा बनायो माटा डिगरो
    माटाका डिगरा हौ हउ कमन
    माटाका डिगराले हउ नाइ कयो
    उति पाछा बनायो साजी डिगरो
    साजीका डिगरा हौ हउ कमन
    साजीका  डिगराले हउ कैहाल्यो
    मन्तालोक नर होइगया
    नर होइग्या पजर होइगया । (भट्ट ः२०६३)

    यसरी डोट्याली लोक मान्यतामा मानव उत्पत्ति सम्बन्धी आफ्नो मौलिक मत रहेको पाइन्छ । महादेव र गौरीको मन्तालोकमा मानव उत्पत्तिको इच्छा हुनु र  आगोलाई मानव जीवनको कारक तथा साजी (खरानी) बाट प्रथम मानवको उत्पत्ति गरिएको मान्यता डोट्याली गाथाहरुमा रहेको पाइन्छ । 

    १.८ निष्कर्ष
    वर्तमान नेपालको सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्य अन्तर्गत बसोबास गर्ने समुदायलाई डोट्याली समुदाय भनिन्छ । डोट्याली समुदायको आफ्नो छुट्टै अस्थित्व रहेको पाइन्छ । यस क्षेत्रको भाषा, साहित्य, धर्म, संस्कृति, राजनीति आदि विविध क्षेत्रका विविध किसिमका मौलिकताहरु रहेको पाइन्छ । यस क्षेत्रको लोक वाङ्मय, लोक जीवन तथा लोक साहित्यको अध्ययन गर्ने हो भने यस क्षेत्रका मौलिक कला, सिर्जना, ज्ञान, विज्ञान, दर्शन आदि कुराहरु पाइन्छन् । यस क्षेत्रमा रहेका गाथा एवम् फागहरुको अध्ययन गर्दा मानव उत्पत्ति सम्बन्धी पनि आफ्नो मौलिक मान्यता रहेको पाइयो । यस क्षेत्रमा हरितालिका तृतीयाको दिन माटोका डिगरा बनाएर पूजा गर्ने प्रचलन रहेको पाइन्छ । माटोका डिगरा बनाउदा महिलाहरुले डिगरा बनाउदाको फाग गाउँछन् जुन फागमा मानव उत्पत्तिको रहस्य पाइन्छ । यो कुनै वैज्ञानिक मत नभए पनि हाम्रो वाङ्मयको मौलिकता हो । मानव उत्पत्तिको बारेमा सत्यता अझै पत्ता लागिनसकेको अवस्थामा यसले पनि मानव उत्पत्तिको सङ्केत आगोलाई दिएको पाइन्छ । यसको शोध खोजले भविश्यमा कुनै न कनै तथ्यमा पुग्न सहयोग गर्नेछ ।

    सन्दर्भ सामग्री
    भट्ट,माया (२०६३), वैदिक संस्कारका माङ्गलिक आभुषणहरू, विवेक स्मृति प्रतिष्ठान, लोकन्थली
    आचार्य, घनश्याम लेखक (२०७४), मानसखण्ड प्रदेश एक सिंहावलोकन, महेन्द्रनगर
    स्व. जानकी भट्ट फाग सगुन अप्रकासित पाण्डुलिपी
    आर.पि. शंखवार (२०१६), मनुष्य की उत्पत्ति ः कहाँ, कब और कैसे? जततउकस्ररकबmबमजबलचउक।धयचमउचभकक।अयm

    थप लेख

    हिन्दु कालगणनामा नववर्ष, शक संवत र रौद्र सम्वत्सरको शास्त्रीय विश्लेषण

    डोट्याली लोकसमुदायमा चैत्र (चैत) महिना र विशिष्ट सांस्कृतिक परम्परा

    रम्वा दा सितकि कुरडि

    Add A Comment
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Buy Now
    Copyright © 2026All right reserved to Kalitoli.com.

    Type above and press Enter to search. Press Esc to cancel.