Close Menu
Kalitoli
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    KalitoliKalitoli
    Subscribe
    [nepali-date-converter title="Nepali date" result_format="l, F j, Y"]
    • गृहपृष्ठ
    • कला साहित्य
    • विचार
    • डोट्याली भाषा विशेष
    • ज्ञान विज्ञान
    • पर्यटन
    • अनुसन्धान
    Kalitoli

    डोट्याली लोक समुदायमा भैलो (कविराज भट्ट)

    कविराज भट्टकविराज भट्टJanuary 26, 2026

    सार

    डोट्याली लोक समुदायको आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सुमदाय हो । यस क्षेत्रमा बोलिने भाषा, यहाँको संस्कृति, मूल्यमान्यता, जीवनशैली पनि मौलिक छ । यस क्षेत्रमा मनाइने चाँडपर्व पनि मौलिक छन् । यस क्षेत्रमा प्रायः मानिसहरुले डोट्याली भाषा प्रयोग गर्दै आएको पाइन्छ । यस भाषामा रहेको लोक साहित्य पनि विशिष्ट छ । यस क्षेत्रमा खेलिने भैलीमा पनि लोक साहित्यको प्रस्तुतीकरण पाइन्छ । उक्त भैलीमा यस क्षत्रका मौलिक चाँडपर्वका साथै तत्कालीन समाजको चित्रण गरिएको पाइन्छ । यस अध्ययनमा भैलीको डोट्याली लोक समुदायमा भैलीको प्रस्तुति कसरी कुन अवसरमा हुने गर्दछ र भौलीमा तत्कालीन समाजको चित्रण कसरी गर्न खोजेको छ भन्ने कुरालाई देखाउन खोजिएको छ । 

    १. विषय परिचय

    नेपाल एकीकरण पूर्व वर्तमान नेपालको सुदूरपश्चिम क्षेत्र डोटी राज्यका रुपमा अवस्थित थियो । मध्यकालीन डोटी एउटा स्वतन्त्र र ठूलो राज्य थियो । यस राज्यको पूर्वमा बुढीगंगा, पश्चिममा महाकाली नदी उत्तर हिमालदेखि दक्षिण तराईसम्म थियो (ओझा,२०६५) ।  यस क्षेत्रका प्रायः मानिसहरुले डोट्याली भाषाको प्रयोग गर्दै आएको पाइन्छ । अन्य भाषाजस्तै यस भाषामा पनि यस समुदायको पहिचान र मौलिकता झल्काउने लोकसाहित्य प्रसस्त मात्रमा रहेको पाइन्छ । यस समुदायमा चल्दै आएका संस्कारहरु, चाँडपर्व तथा लोक जीवनका विभिन्न कार्यहरुमा लोक साहित्यको प्रस्तुति हुने गरेको पाइन्छ । जन्मदेखि मृत्यु सम्मका संस्कार, धार्मिक अनुष्ठान, पूजाआजा तथा कृर्षिआदि विभिन्न कार्यहरुमा लोक साहित्यको प्रस्तुति हुने गरेको पाइन्छ । यस क्षेत्रमा विभिन्न संस्कारहरुमा गाइने संस्कार गीत सगुन, फाग, अनुष्ठान तथा चाँडपर्वमा गाइने गाथा धुमारी, ढुष्को अठ्यावाली, कृर्षि तथा मेलापातमा गाइने भैन, भगन्यौला, चाँचरी, ककौला, त्यसै गरी मौलिक पर्व तथा अवसरहरुमा गाइने भैली, भड़ा एवम् शिक्षा, मनोरञ्जन तथा उपदेशका लागि प्रस्तुत गरिने बातइ, किस्सा, आइना, लोरीगीत आदिले हाम्रो लोक साहित्य भरिपूर्ण छ ।

    यस क्षेत्रको लोक साहित्यमा भैली पनि एक नृत्यगेयात्मक विधा हो । भैली  विशेष गरी दीपावली, स्थानीय पर्व दुत्या तथा देवी देवताका मन्दिरमा जात्रा एवम् वलि लग्दा प्रस्तुत गरिन्छ । भैलीलाई डोट्याली भाषामा भैलो भनिन्छ । भैलो खेल्ने मानिसहरुलाई भैलारु भन्ने गरिन्छ । भैलो प्रस्तुत गर्ने जानकार टोली नायकलाइ भैलो भटिउन्या मान्छे भनिन्छ । भौलो एक जनाले भट्याउँछ भने अरुले सामुहिक रुपमा नृत्य अभिनय सहित भौलो भन्ने गर्दछन् । यसमा पर्वको परिचयबाट सुरु भएर मुख्य भागमा ठाउँ अनुसारका मौलिक विषयवस्तु अन्त्यमा आर्षिवादमा समाप्त हुने गर्दछ । यस क्षेत्रमा गाइने भैलीले डोट्याली लोक समुदायको चित्रण एवम् यहाँको मौलिक पहिचानलाई बोकेको पाइन्छ ।  

    २. समस्या

    कुनै पनि अनुसन्धानमा खोज गरिने विषयवस्तु नै त्यसको समस्या हुने गर्दछ । अनुसन्धान परियोजनाको सार्थकता अनुसन्धानको लागि छनौट गरिएको समस्यामा निर्भर हुन्छ । तसर्थ अनुसन्धानलाई सफल र औचित्यपूर्ण बनाउन खोजकार्ताले उपयुक्त समस्याको छनोट गर्नुपर्छ निउरे,२०७५) । यो अनुसन्धान पनि डोट्याली लोक साहित्यसँग सम्बन्धित भएकाले यस समुदायमा प्रस्तुत गरिने भैलो कुन अवसरमा कसरी प्रस्तुत हुन्छ । यसमा समाजको चित्रण कसरी गरिएको छ भन्ने कुराहरुलाई समस्याका रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ः 

    क) डोट्याली समुदायमा केकस्तो भैलो रहेको छ ?

    ख) भैलोमा तत्कालीन समाजको चित्रण कसरी गरिएको छ ?

    ३. उद्देश्य

    कुनै पनि अनुसन्धान खास उद्देश्य पुर्तिका लागि गरिन्छ । अनुसन्धानका क्रममा भनिएको प्राज्ञिक प्रश्नको समाधान नै उद्देश्य हो (निउरे र घिमिरे,२०७०) । यस अनुसन्धानमा पनि डोट्याली लोक साहित्यका विविध मौलिक पक्षहरुको उजागर गर्नका लागि यस क्षेत्रमा प्रस्तुत भैलोको अध्ययन गरी यसका मौलिक पक्ष र तत्कालीन सामाजिक अवस्थाको बारेमा अध्ययन गर्ने प्रयास गरिएकाले यसका उद्देश्यहरुलाई यसरी प्रस्तुत गर्न सकिन्छ ः 

    क) डोट्याली समुदायमा अवस्थित भैलोको अध्ययन गर्न,

    ख) भैलोमा तत्कालीन समाजको अध्ययन गर्न । 

    ४. अध्ययनको महत्व

    अनुसन्धानमा उद्देश्यका साथ गरिएका कुनै पनि अध्ययनको विशेष महत्व हुने गर्दछ । अनुसन्धानका माध्यमबाट नयाँ ज्ञानको विस्तार तथा ज्ञानभण्डार वृद्धि साथै नयाँ तथ्यको अन्वेषण र पुराना तथ्य वा ज्ञानको पुनर्मूल्याङ्कन गर्ने कार्य हुन्छ (निउरे र घिमिरे, २०७०)। यो अध्ययन डोट्याली लोक साहित्यसँग सम्बन्धित रहेको छ । लोक साहित्यमा त्यस ठाउँको मौलिक पहिचान र ज्ञान विज्ञानका साथै त्यस क्षेत्रको समग्र जीवनशैली लुकेको हुन्छ । डोट्याली लोक साहित्यको नृत्य गेयात्मक विधा भैलो सम्बन्धी यस अध्ययनले पनि यस क्षेत्रको लोक साहित्यको अध्ययन, तत्कालीन समाजको ज्ञान, दिनुका साथै यस सम्बन्धी अध्ययन गर्न चाहाने अध्येताहरुलाई मार्गनिर्देशन गर्ने कुरामा यसको महत्व रहने छ । 

    ५. अध्ययन विधि

    यस अध्ययनको लागि व्याख्यात्मक विधिको प्रयोग गरिएको छ । यससम्बन्धी विभिन्न पुस्तक तथा लेखरचनाहरुलाई द्वितीयक सामग्रीका रुपमा उपयोग गरिएको छ भने बैतडी जिल्लामा गाइने भैलो सङ्कलन गरी विभिन्न दृष्टिकोणबाट त्यसको व्याख्या विश्लेषण गरिएको छ ।  

    ६. डोट्याली लोक समुदायमा भैलो

    हिन्दु समुदायमा दीपावलीको समयमा लक्ष्मीपूजाको दिनदेखि भाई तिहारसम्म समुहमा विभिन्न वाद्यवादनका साथ समूहमा प्रस्तुत गरिने नृत्यगेयात्मक विषयवस्तुलाई भैली भनिन्छ । तिहारमा रमाइलो गर्दै विशेष गरी साँझपख मानिसहरु घरघरमा गइ नृत्यका साथ भैली गीत गाएर घरका मानिसहरुलाई आषिर्वचन तथा शुभकामना दिने गरिन्छ । त्यसबेला गाइने गीतलाई भैली भनिन्छ । यसमा एक जना भट्याउने र अरुले सामुहिक रुपमा भैली भन्ने गरिन्छ । यसैको समानार्थी रुपमा भैलीको सट्टा कतैकतै देउँसी पनि गाइने गरिन्छ । 

    भैलो विशेष गरी दीपावली, स्थानीय पर्व दुत्या तथा देवी देवताका मन्दिरमा जात्रा एवम् वलि लग्दा प्रस्तुत गरिन्छ । भैलीलाई डोट्याली भाषामा भैलो भनिन्छ । भैलो खेल्ने मानिसहरुलाई भैलारु भन्ने गरिन्छ । भैलो प्रस्तुत गर्ने जानकार टोली नायकलाइ भैलो भटिउन्या मान्छे भनिन्छ । भौलो एक जनाले भट्याउँछ भने अरुले सामुहिक रुपमा नृत्य अभिनय सहित भौलो भन्ने गर्दछन् । यस क्षेत्रमा भैलो दिपावलीमा मात्र नभएर विभिन्न अवसर गाउँने चलन छ । यस क्षेत्रमा दिपावलीमा त गाइन्छ नै यसभन्दा भिन्न देवताहरुको मन्दिरमा जात्रा तथा वलि लग्ने बेला पनि भैलो गाउने चलन छ । डोट्याली समुदायका केही ठाउँहरुमा  दीपावलीको ठिक तिस दिनपछि पर्ने औँशीदेखि द्वितीयासम्म बुडोभैलो मनाउने चलन छ । औशीँको दिनदेखि विशेष गरी साँझको समयमा केटाकेटीहरु घरघरमा गएर भैलो खेल्दछन् । भैलो गाएर घरमुलीलाई अन्न, गोरस, धनपैसा आदिको कमी नहोस भनेर आर्षिवचन दिने गर्दछन् र घरमुलीले अन्न, दक्षिण दिएर भैलारुहरुलाई पठाउँछन्  । द्वितीयाको दिन विभिन्न स्थानीय मन्दिरहरुमा जात्रा लगेर भैली खेल्दै समाप्त हुने गर्दछ । सुदूरपश्चिमको द.न.पा. झौलेकको छडिलिङ्ग मन्दिर, बैतडीकै सलेना, प्यानी लगायत विभिन्न ठाउँमा मेला लाग्ने र यस पर्वलाई बडो धुमधामका साथ मनाइने गरिन्छ । विशेष गरी दीपावली पछि मनाइने हुनाले दुत्यापैतिरो भैलो भन्ने उखान समेत यस क्षेत्रमा रहेको पाइन्छ । 

    ६.१ भैलोको संरचना

    संरचनाका हिसाले भैलो करिब दस मिनेटजतिको समयमा गाएर सिद्धिन्छ । यसको सुरुवातमा पर्वको परिचय आउने गर्दछ, जुन यस भैलोमा यसप्रकार रहेको छ ः 

    औशी बारो 

    गाई तिहारो 

    धर्म धुपारो

    धर्मै खोली

    पैसाकी झोली

    इन तेरा पैसा

    ह¥या न त त¥या

    पिपल ध¥या

    पिपल पाती

    यसमा औशीको दिनलाई विशेष महत्व दिएको पाइन्छ । हिन्दु परम्परामा औशीँलाई धन सम्पत्तीकी अधिष्ठात्री देवी लक्ष्मीको विशेष पर्वका रुपमा मान्ने गरिन्छ भने गाईलाई लक्ष्मीको स्वरुप र पिपललाई विष्णुको प्रतीकका रुपमा पूजा गर्ने चलन छ । यस भैलीका उपयुक्त पङ्तिहरुमा पनि औशी, गाई पिपल र धनपैसालाई  विशेष महत्वका साथ प्रस्तुत गरेको पाइन्छ । 

    भैलोको मध्य भागमा मुख्य विषयवस्तु समावेश गरेको पाइन्छ । यसमा ठाउँ अनुसार त्यस क्षेत्रको इतिहास, गाथा, लगायत समाजको चित्रण प्रस्तुत गरिन्छ । यसमा पनि तत्कालीन समाजको चित्रण गर्ने विषयवस्तु यस प्रकार रहेको छ ः

    पिपल पाती

    रयाकी छाती

    रयो जमान 

    जाख जुमला 

    घिउ खानी कमला

    खान त खान

    क्या सित खान

    बाकरो खान

    बाकरो कसो 

    भुरकुल्ली छोटोे

    पुछड़ मोटो

    रक्तकी नन्दी 

    सो नन्दी काँ गै

    धौली धार 

    काली पार

    काली पारका

    राज दरबार

    बकरो काटी 

    हम खान लिउँला

    कोलेडो काटी

    गाउँ मुख्या दिउँला

    खुरेउड़ा काटी 

    तम खान दिउँला

    यसरी विषयवस्तुको प्रस्तुतिपछि भैलोको अन्त्यभागमा घरका मानिसहरुलाई आर्षिवचन दिने प्रचलन रहेको छ, जुन भैलोमा यसरी प्रस्तुत भएको पाइन्छ ः   

    एइ घर घरिना 

    जि जागी रन्ना

    अमर हन्ना

    हम भैलो दिन्ना 

    यसरी भैलो सुरुमा पर्व परिचय र देवीदेवताको नाम स्मरण, मध्य भागमा विषय वस्तुको प्रस्तुति र अन्त्यमा आर्षिवचनको संरचनामा रहेको पाइन्छ ।

    ६.२ भैलोका तत्कालीन समाजको चित्रण

    साहित्य समाजको ऐना हो । समाजमा हुने गरेका राम्रा नराम्रा पक्ष तथा उक्त समाजको समग्र तस्बिर साहित्यले झल्काउने गर्दछ । लोक साहित्यमा पनि समुदायको पहिचान,मौलिकता तत्कालीन  समाजको समग्र चित्रण गरिएको पाइन्छ । डोट्याली समुदायमा विभिन्न अवसरमा प्रस्तुत हुने यस भैलोमा पनि तत्कालीन समाजको चित्रण गरिएको पाइन्छ । नेपाल एकीकरण पूर्व बाइसे चौविसे राज्यहरुको पालामा वर्तमान सु.प. क्षेत्र पनि डोटी राज्यका रुपमा अवस्थित थियो । तत्कालीन समयमा हरेक गाउँ समाजमा मुखिया, प्रधान, पञ्च, भलादिमीहरु हुने गर्दथे । गाउँठाउँमा हुने गरेका विविध समस्या समाधानका लागि सबैले राज्यका प्रतिनिधिको रुपमा उनीहरुलाई मान्ने चलन थियो । गाउँघरमा विभिन्न चाँडबार, ब्रतबन्ध लगायत खुशीका अवसरमा उनीहरुलाई मानसम्मान दिने, टिका भेटी दिने तथा खसी बोका दिने चलन थियो । वर्तमान समयमा यो चलन राज्यका प्रतिनिधिका रुपमा नरहे पनि देवी देवता र परम्परागत मूल्य मान्यताहरुसित जोडेर उनीहरुको सम्मान गर्ने परम्परा जीवित नै रहेको पाइन्छ । घरमा पूजा लगाउँदा एक दुनो प्रसाद र भेटी देवीदेवताका मुखियालाई दिने, विवाह व्रतबन्ध अथवा माङ्गलिक कार्यहरुमा टिका भेटी तथा पगडी दिने चलन अझै पनि देख्न सकिन्छ ।  

    माओवादी जनयुद्ध पूर्व यस क्षेत्रमा मनाइने दुत्या पर्वमा प्रसस्त मात्रामा जुवा खेल्ने चलन थियो । यो समयमा जुवा खेल्न सरकारबाट खुल्ला गरिएको थियो । जुवा खेल्ने मान्छे मात्र नभएर हेर्ने मान्छेको पनि भीड हुन्थ्यो । जुवारीहरुको सेवा गरेबाफत जितौरी माग्नेहरु पनि प्रसस्त हुन्थे । कसले कति जित्यो, कति हा¥यो यसको चर्चा महिनौँ सम्म चल्ने गर्दथ्यो । जुवामा घनसम्पत्ति घरबार देखि कतिपय अवस्थामा त महाभारतको कथामा द्रौपदीजस्तै  कतिपय जुवारी श्रीमती समेत दाउमा लाउने गरेका कुरा बुढापाखाहरुबाट सुन्नमा आउँछन् । कतिपयले जुवाकै कारण ज्यान समेत गुमाउनु परेको, झैँझगडा परेको पनि सुनिन्थ्यो ।  महिनौँ सम्म जुवाको चर्चा हुने गर्दथ्यो । यस्ता अवसरमा गाउँका मुखिया, भलादमी, राजारजौटाहरु पनि सामेल हुने गर्दथे । 

    यस क्षेत्रको भैलीलाई अध्ययन गर्दा पनि तत्कालीन समयमा समाज कुन अवस्थामा थियो भन्ने कुरा प्रष्ट हुन्छ ।  गाउँमा रहेका प्रधानपञ्च, मुखिया, भलादिमी तथा राजा रजौटाहरुलाई विभिन्न चाँडपर्वको  अवसर पारी भोज दिएर मान्ने चलन रहेको कुरा यस भैलीमा रहेको गीतका अंशहरुले झल्काएको पाइन्छ । बाख्रो काटेर कालीपारीको राजदरबार दिने गरेको कुरा भैलीमा रहेको निम्न अंशले सङ्केत गरेको पाइन्छ 

    रक्तकी नन्दी 

    सो नन्दी काँ गै

    धौली धार 

    काली पार

    काली पारका

    राज दरबार

    यही अवसर पारी गाउँलेहरु ठूलाबडालाई खुशी पार्न भोजभतेर दिने, मासु, घिउँ आदि खुवाउने गरेको सुन्नमा पनि आउँछ । त्यसैको प्रतिबिम्व यस भैलीमा पनि झल्किएको पाइन्छ । यसै गरी धनीमानी र सामन्तीहरुले गरिब मानिसलाई व्याजमा पैसा दिने, जमानी राख्ने र जुवा खेल्न लगाउने गरेको पाइन्थ्यो । जसको झल्को यस भैलीमा पनि पाइन्छ ः

    पैसाकी झोली

    इन तेरा पैसा

    ह¥या न त त¥या

    पिपल ध¥या

    पिपल पाती

    रयाकी छाती

    रयो जमान 

    तत्कालीन सयमका यसरी पैसा कर्जा दिएपछि साहुहरुलाई घिउँ, मासु खुवाउने गरेको र साहुकारलाई खुशी पार्ने गरेको पाइन्छ । गाउँका टाँठाबाठाहरुले गाउँबाट घिउँमासु जम्मा पार्ने र राजारजौटा तथा भलादिमीहरुलाई खुवाउने र उक्त भोजमा राम्रो राम्रो मासु तथा परिकार आफू खाने र बाख्रका खुट्टाको भाग र बचेकुचेको खानेकुरा गाउँलेहरुलाई दिने गरेको कुरा पनि भैलीको निम्न अंशबाट प्रष्ट हुन्छ ः

    बकरो काटी हम खान लिउँला

    कोलेड़ो काटी गाउँ मुख्या दिउँला

    खुरेउड़ा काटी तम खान दिउँला

    यति हुँदाहुँदै पनि यो पर्व मनोरञ्जन धार्मिक, साँस्कृतिक तथा सामाजिक दृष्टिले भने उत्तिकै महत्वपूर्ण पनि रहेको पाइन्छ । परदेशीहरु घर आउने, पर्वको अवसरमा सबैसँग भेटघाट हुने, मिठो मसिनो परिकारहरु खाइने, लक्ष्मी पूजा गरिने, दीपावली गरिने र भैलो खेलिने कार्य भने अत्यन्तै महत्वपूर्ण छ । हरेक घरमा खुशी बाड्ने, सामुहिक उपस्थिति हुने, केटाकेटीहरुले मनोरञ्जन गर्न पाउने हिउँदको चिसोलाई रमाइलो गरी मनाउने कार्य भने साँस्कृतिक रुपमा महत्वपूर्ण रहेको छ । 

    ७. निष्कर्ष

    कुनै पनि समुदायको मौलिक पहिचान भनेको त्यस क्षेत्रको भाषा, सँस्कृति र लोक साहित्य हो । डोटुयाली भाषा समुदाय पनि लोक साहित्यका क्षेत्रमा धनी छ । यस क्षेत्रमा रहेको लोक साहित्यले यहाँको लोक जीवनलाई झल्काएको पाइन्छ । भैलोले पनि यस क्षेत्रको लोकजीवनलाई प्रष्ट देखाएको छ । तत्कालीन समयमा सामन्तीहरुबाट जनसाधारणले दुःख पाएका, जुवातास जस्ता विकृतिहरुले कष्टकर जीवन बाँच्नु परेको भए पनि अहिले यस्ता विकृतिहरु हट्दै गइरहेकाले दुत्या पर्व एक विशुद्ध पर्वका रुपमा स्थापित हुँदै गइरहेको छ । यसमा प्रस्तुत हुने भैलोले तत्कालीन समाजको ज्ञान दिनुका साथै लोक साहित्यका दृष्टिले पनि महत्वपूर्ण रहेको छ । सुदूरपश्चिमका हेरेक क्षेत्रमा गाइने भैलोको अझैँ अध्ययन हुन बाँकी रहेकाले अबको अध्ययनका लागि यस अध्ययनले केही मार्ग प्रशस्त गरेको अनुभव हुन्छ । यस्ता पर्वहरुका विकृतिहरुलाई हटाएर विशुद्ध पर्वका रुपमा यसको महत्व स्थापित गर्न सकेमा यसले यस क्षेत्रको पहिचानमा अझ भूमिका खेल्ने कुरा नकार्न सकिदैन ।    

    सन्दर्भ 

    ओझा, आत्माराम (२०६५) सु.प. को इतिहास, कञ्चनपुर

    निउरे, ध्रुबप्रसाद र दिनेश अधिकारी(२०७०) भाषिक अनुसन्धान विधि, सनसाइन पव्लिकेशन, काठमाण्डौँ

    निउरे, ध्रुबप्रसाद(२०७५) शैक्षिक अनुसन्धान पद्दति, क्वेस्ट पव्लिकेशन । 

    थप लेख

    हिन्दु कालगणनामा नववर्ष, शक संवत र रौद्र सम्वत्सरको शास्त्रीय विश्लेषण

    मानव उत्पत्ति सम्बन्धी डोट्याली मान्यता

    रम्वा दा सितकि कुरडि

    Add A Comment
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Buy Now
    Copyright © 2026All right reserved to Kalitoli.com.

    Type above and press Enter to search. Press Esc to cancel.